काठमाडाैं । प्रदेश ३ को नाम अब बाग्मती हुनेछ र राजधानी हेटाैंडा हुनेछ । प्रदेशकाे नाम र राजधानी तय गर्ने तर्फ प्रदेश ३ काे संसद् अगाडी बढेकाे छ । अाज प्रदेश सभाले प्रदेश नामाकरण सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।
संसद् भवन हेटाैंडामा भएकाे बैठकमा मुख्य सचेतक रामेश्वर फुयाँलले प्रदेशकाे नाम र राजधानी तय गर्ने कार्यविधि सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । साे कार्यविधिलाई लाई नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गरेका थिए । प्रस्ताव सर्वसम्मत स्वीकृत भए पनि प्रदेशकाे राजधानीमा भने विवाद कायमै छ ।
अाजकाे बैठकमा प्रदेशको राजधानीको विषयमा मतदान हुने तय थियाे तर विवाद देखिएपछि सभामुख सानुकुमार श्रेष्ठले बुधबार सम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश राजधानी र नाममा असहमति देखाउँदै नेकपाकै सांसद्हरु विभाजित भएका छन् । कतिपय सांसद्ले पार्टीको हृवीप उल्लंघन गर्ने धम्की दिएका छन् ।
