काठमाडौं। प्रदेश ३ को राजधानी तोकियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ। राजधानी संभाव्यता अध्ययन विशेष समितिको तर्फबाट सांसद् दिपक निरौलाले समितिको प्रतिवेदन संसद्मा पेश गरेका हुन् ।
प्रदेशकाे राजधानी तोक्न प्रदेश सभाले यसअघि नै राजधानी संभाव्यता अध्ययन विशेष समिति गठन गरेको थियो।
अहिले प्रदेश सभाको बैठकमा साे प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमा प्रदेशकाे राजधानी हेटौंडा राख्न उपयुक्त हुने सुझाव दिइएको एक सांसद्ले जानकारी दिए ।
प्रदेश ३ को राजधानी तोक्ने विषयमा भएको विवाद बुधबारबाट साम्य भएको छ। अब नेकपाका सांसद्हरुले सचिवालयको निर्देशन बमोजिम नै प्रदेश सभामा मतदान गर्ने भएका छन् ।
प्रदेशको राजधानी हेटौंडा तोक्ने सचिवालयको निर्देशन प्रति विरोध जनाएका सांसद्लाई मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ प्रदेशका पदाधिकारीलाई बालुवाटार बाेलाएर छलफल गरेका थिए । छलफलमा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल पनि उपस्थित थिए ।
साे छलफल पछि प्रधानमन्त्री लगायतका शीर्ष नेताले सचिवालयकाे यसअघिकाे निर्देशन मान्न प्रदेश ३ का पदाधिकारीलाई आग्रह गरेपछि विवाद मिलेकाे हाे ।
