काठमाडौं । प्रदेश ३ को नाम र राजधानी तोक्ने विषयमा छलफल गर्न बसेको प्रदेश ३ नेकपा संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार ६ घण्टासम्म चलेको बैठकमा चर्काचर्की भइ सहमति जुट्न नसकेका कारण बैठक भोलिसम्मका लागि स्थगित गरिएको हाे ।
आजकाे बैठकमा बोल्दै सांसद्हरुले राजधानी अध्ययन सम्भाव्यता विशेष समितिले सिफारिश गरेको पाँचै जिल्ला संसद्मा प्रस्ताव गर्नुपर्ने अडान राखेका थिए । समितिले सिफारिश गरेको काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरको प्रस्ताव अघि बढाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्न सांसद्हरुले नेतृत्वलाई आग्रह गरेका थिए ।
बैठकमा सांसद्हरुबीच यो विषयमा सहमति हुन नसकेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
नेकपा प्रदेश सभा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले थप छलफल आवश्यक भएकोले बैठक स्थगित गरिएको सनराइज खबरलाई जानकारी दिए । उनले नेकपा लोकतान्त्रिक पार्टी भएकाले छलफलबाटै समाधान निकाल्न बैठक भोलिसम्मको लागि स्थगित गरिएको बताए ।
तर समूहगत रुपमा छलफल गर्दा निष्कर्ष निकाल्न कठिन भएकाले शीर्ष नेतृत्वले यो विषयमा छलफल गर्ने अर्का एक नेताले जानकारी दिए । शीर्ष नेता बीच छलफल गरेर एउटै प्रस्ताव तयार पार्न बैठक स्थगित भएकाे उनले बताए ।
शुक्रबारको बैठकमा भने नेताहरुले निर्णय सुनाउने र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने तयारी गरेको ती नेताले जानकारी दिए ।
नेकपा केन्द्रीय हाईकमाण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्न प्रदेशका शीर्ष नेताहरुलाई निर्देशन दिएका थिए ।
