काठमाडौं । प्रदेश ३ को सभामा बिहीबार पनि प्रदेश राजधानी तोक्ने विषयमा छलफल भएको छ । छलफलमा सांसद्हरुले काभ्रे, हेटौंडा तथा नुवाकोटलाई राजधानी बनाउने विषयमा आआफ्ना तर्क पेश गरे ।
सांसद् रविनप्रसाद पाण्डेले संविधानले दिएको विशेषाधिकार उपयोग गर्दै प्रदेशले राजधानी र नाम तोक्नु पर्ने धारणा राखे । उनले भौगोलिक सुगमता, औचित्य, सामर्थ्य जस्ता विषयलाई विश्लेषण गर्दै राजधानीको नाम छनोट हुनुपर्ने भनाइ राखे ।
३२ लाख जनसंख्याले काभ्रेलाई सहज मान्ने र १३ लाखले हेटौंडालाई नजिक ठान्ने बताउँदै उनले भौगोलिक सुगमताका आधारमा पनि प्रदेश राजधानीका लागि काभ्रे उपयुक्त हुने धारणा राखे ।
उनले १० जिल्लाले छुट्टै राजधानी घोषणा गर्ने दिन आउन नदिन पनि काभ्रेलाई प्रदेश राजधानी तोकिनुपर्ने धारणा राखे ।
सांसद् राजेन्द्र गुरुङले हेटौंडामा प्रदेश सरकार भएका बेला पनि नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अब काभ्रेलाई प्रदेश राजधानी तोकेर अघि बढ्नुपर्ने धारणा राखे ।
सांसद् रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाउनका उपयुक्त हुने आधार प्रस्तुत गरे । संघीयताले सामाजिक न्यायको सुनिश्चिता गरेकाे तथा हातैले भेट्ने ठाउँमा सरकार भनेकाले पनि काभ्रेलाई राजधानी ताेक्नु उपयुक्त हुने उनले बताए ।
सांसद् बिजुला बर्मा रानाले काभ्रे राजधानी भएमा धेरैलाई पायक पर्ने बताइन् । राजधानी तोक्ने विषयमा केन्द्रको हस्तक्षेपलाई सबैले टाउको निहुर्याएर स्वीकार गरेको आरोप उनले लगाइन् । उनले भावी सन्ततिका लागि पनि काभ्रेलाई प्रदेश राजधानी बनाउन उपयुक्त हुने धारणा राखिन् ।
सांसद् केशवप्रसाद पोखरेलले प्रदेश ३ का जनतालाई सम्बोधन गर्ने गरी राजधानीको विषयमा छलफल हुनुपर्ने बताए । उनले काभ्रे नै प्रदेश राजधानी उपयुक्त हुने बताउँदै अझ गहन भएर यसबारे सोच्न सबै पक्षलाई आग्रह गरेका छन् ।
यस्तै सांसद् प्रेमबहादुर पुलामीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति गर्दै हेटौंडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गरेका छन् ।
सांसद् ओमबहादुर घलानले राजधानीका लागि बीच भाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ? भन्दै प्रश्न गरेका छन् । मकवानपुर सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला भएकाले र सबैले मन पराएको स्थान भएकाले पनि हेटाैंडा नै राजधानी हुनुपर्ने धारणा राखे । उनले हिजो रणनीतिक तथा सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसलाई नबिगार्न आग्रह गरेका हुन् ।
सांसद् मुनु सिग्देलले संविधान अनुसार नै राजधानी तोकिने भएकाले कसैको अधिकार हनन नहुने बताइन् ।
यस्तैगरी सांसद् केशवराज पाण्डेले भने नुवाकोटलाई प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे । नुवाकोट आफ्नो क्षेत्र भएकाले मात्र नभइ काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने उनले बताए ।
