काठमाडौं। प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा नै हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलेको निवासमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
आजकाे बैठकबाट प्रदेशकाे नाम बागमती र राजधानी हेटाैंडा हुने सर्वसम्मत निर्णय भएकाे नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले सनराइज खबरलाई जानकारी दिए ।
निर्णय अनुसार मतदान गर्न र अनुपस्थित नहुन संसदीय दलले ह्वीप जारी गर्ने तयारी गरेकाे छ ।
तर काभ्रे पूर्वका सांसद्हरुले प्रदेश ३ काे नाम र राजधानीमा असहमति जनाएका छन् । उनीहरुले संसदीय दलमा असहमति पत्र दर्ता गर्ने विषयमा अहिले छलफल गरिरहेका छन् ।
यसअघि प्रदेशको नाममा कुनै विमती नभए पनि राजधानी हेटौंडा बनाउने विषयमा भने नेकपाका केही प्रदेश सभा सदस्यहरुले असहमति जनाउँदै आएका थिए। उनीहरुले हेटौंडा राजधानी राख्ने प्रस्ताव आएमा आफूहरुले फ्लोरक्रस गरेर त्यसको विरुद्धमा मतदान गर्ने चेतावनी दिएका थिए।
गत पुस १३ मा बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्न नेकपा प्रदेश ३ संसदीय दललाई निर्देशन दिएको थियो।
तर प्रदेश ३ का शीर्ष नेतृत्व पनि यसमा विभाजित भएपछि याे विषयले विवादकाे रुप लिएकाे थियाे । साे प्रदेशका शीर्ष नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड महासचिव विष्णु पौडेल लगायतका नेताले सचिवालयको निर्णय कार्यान्वयन गर्न फेरि निर्देशन दिएपछि प्रदेशको नाम र राजधानीमा चलेकाे सबै विवाद अन्त्य हुने बाटाे खुलेकाे थियाे।
कांग्रेस नैतिक संकटमा
प्रदेश सभाकाे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अहिले नैतिक संकटमा परेकाे छ । प्रदेश ३ को राजधानी हेटाैंडा राख्ने निर्णय तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको हो। आफ्नै सभापति नेतृत्वको सरकारले तोकेको राजधानीको विपक्षमा गएर मतदान गर्न कांग्रेसलाई नैतिक संकट छ । याे विषयमा कांग्रेस सांसद्हरु पनि विभाजित छन् ।
प्रदेश ३ काे सभामा तेस्रो ठूलो दल विवेकशील नेपालीले भने राजधानी काभ्रे हुनेपर्ने धारणा राख्दै आएको छ। राजधानीको लागि नेकपा र कांग्रेसबाट काभ्रेमा प्रस्ताव नआएमा विवेकशील दलले साे प्रस्ताव गर्ने तयारी गरेको विवेकशीलका प्रदेश सभा सदस्य रमेश पौड्यालले बताए।
कांग्रेसले अहिलेसम्म याे विषयमा सांसद्लाई स्वतन्त्र छाेड्ने वा ह्वीप जारी गर्ने भन्ने विषयमा औपचारिक निर्णय गरिसकेकाे छैन ।
तीन नं प्रदेश सभाको दलीय समीकरण
नेकपा – ८० नेपाली कांग्रेस – २२ विवेकशिल साझा – ३ नेपाल मजदुर किसान २ राप्रपा – १ राप्रपा प्रजातान्त्रिक– १ नयाँंशक्ति– १ ................................... कुल – ११० ।
