मकवानपुर । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने संयुक्त प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कांग्रेससहित ६ दलले राजधानी हेटौंडा र नाम बागमती राख्ने संयुक्त प्रस्ताव शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् ।
प्रदेशको स्थायी राजधानी हेटौंडाकाे प्रस्तावक मुख्यमन्त्री तथा नेकपा नेता डोरमणि पौडेल छन् । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ समर्थक छन् ।
यस्तै प्रदेशकाे नाम बागमतीकाे प्रस्तावक कांग्रेस संसदीय दलका नेता बानियाँ छन् । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छन् समर्थक छन् ।
शुक्रबार राति बसेको सर्वदलीय बैठकबाट नेकपाको प्रस्तावमा अन्य दल सहमत भएका हुन् । नेकपा प्रदेश ३ संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो ।
विवेकशील नेपालीले नाममा सहमति जनाएपनि राजधानी काभ्रेको धुलिखेल राख्नुपर्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ । साे काे प्रस्तावक रमेश पौडेल छन् भने शोभा शाक्य र विराजभक्त श्रेष्ठले समर्थन गरेका छन् ।
नेमकिपाले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन ।
एक सय १० सदस्यीय प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् ।
आजै दिउँसो बस्ने प्रदेशसभा बैठकमा छलफल प्रस्तावमाथि छलफल सुरु हुनेछ। प्रदेशसभा दर्ता भएको स्थान र नामको विषयमा सदनमा छलफल सकिएपछि आइतबार मतदान हुनेछ ।
