हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नाम तोक्न आइतबार मतदान हुँदैछ ।
प्रदेशको नाम वाग्मती र राजधानी हेटाैंडा कायम गर्न मतदान हुन लागेको हो । प्रदेश ३ प्रदेश सभाबाट आइतबार औपचारिक रुपमा प्रदेशको नाम र राजधानी तोक्न लागिएको हो ।
राजधानी हेटौंडा र नाम वाग्मती राख्न सबै दल एकमत छन् । प्रदेशसभा सचिवालयका अनुसार एक सय ५ जना सांसद्ले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने छन् ।
प्रदेश ३ मा एक सय १० जना सांसद् छन् । जसमा नेकपाका सांसद् ८० जना छन् । नेकपाबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि उसका ७९ जना सांसद हुन्छन् । राजधानी पारितका लागि दुई तिहाइ आवश्यक पर्छ । अर्थात ७४ मत भए पुग्छ ।
त्यस्तै कांग्रेसका २२, नेमकिपाकाका २, राप्रपा र राप्रपा संयुक्तका १/१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा एक सय ५ मत पुग्छ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवेकशीलका ३ मत छन् । एक मत रहेका स्वतन्त्र सांसद प्रेम तामाङले भने मतदानमा सहभागी नहुने बताएका छन् ।
प्रदेश सभा गठन भएको करिब दुई वर्षपछि प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्न लागिएको हो ।
