हेटाैंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक पूर्वाधार, सुरक्षा लगायत सबै पक्षलाई हेरेर राजधानी तोकिएको बताएका छन् ।
हेटौंडालाई बनाइनुपर्छ भन्ने प्रस्तावमा प्रदेश सांसदले राखेका जिज्ञासाको उत्तर दिँदै उनले यस्तो विचार राखेका हुन् ।
अब यातायातको समस्या समाधान गरिने भन्दै उनले भने– ‘हेटौंडा–भीमफेदी सुरुङमार्ग, काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग प्रदेश सरकारले निर्माण थालिसकेको छ ।’
उनले चालु आर्थिक वर्षभित्र हेटौंडाबाट पनौती जोड्ने ५८ किलोमिटर सडक निर्माण गरिने बताए । हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल, तालिम केन्द्र र खेलकूद मैदानको निर्माणको काम अन्तिम चरणमा पुुगेको बताए । नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक संरचना तयार भइरहेको उनले जानकारी दिए ।
जनतालाई शान्ति सुरक्षा दिन केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने भन्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गरिने बताए । प्रदेश सरकारले निष्पक्ष रुपमा जिम्मेवारी पुरा गर्ने भन्दै उनले संविधानको मर्म अनुसार प्रदेशसभाको स्वतन्त्रतामाथि कुनै अंकुश नलगाइएको बताए ।
आज बसेको प्रदेशसभा बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको थियो ।
यस्तै प्रदेशसभा बैठकमा प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेलमा हुनुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । जसको पक्षमा तीन मत मात्र परेको थियो ।
प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि प्रदेशको नाम र राजधानी तोकिएको हो ।
