काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद् भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।
मंगलबार आयोजित समितिको बैठकमा शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफलमा समितिले भूकम्पबाट जीर्ण बनेको संसद् भवन भत्काएर यसको मौलिकतालाई बिग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई साे निर्देशन दिएकी हुन् ।
बैठकमा सांसद्हरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले संसद् भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद् रामबहादुर बिष्टले भूकम्प गएको धेरै वर्ष हुँदा समेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सुझाव समेत दिन नसकेको गुनासो गरे ।
सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताए ।
बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद् भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरु विज्ञबाट आएको बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको जानकारी दिए ।
