दमाैली । नेकपा संसदीय दल बैठकले सभामुखको विषय टुंगाे लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
शुक्रबार तनहुँमा भएको कार्यक्रममा मन्त्री ढकालले भने– ‘सभामुखका लागि धेरै दिन कुर्नु पर्दैन, पार्टीको संसदीय दल बैठकले चाँडै टुङ्गो लगाउँछ ।’शीर्ष नेताबीच दिनहुँ वार्ता भएपनि सभामुख टुंगो लाग्न नसकेका बेला नेकपा नेता समेत रहेका मन्त्री ढकालले संसदीय दलबाट टुंगो लगाइने बताएका हुन् ।
सभामुख चयन नहुँदा प्रतिनिधि सभा प्रभावित भएको स्वीकार गर्दै उनले सहमतिकै आधारमा टुंगो लगाइने बताए ।
नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिधि सभा प्रभावित भएको छ । आज पनि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्नतर्फ लागिएको भन्दै मन्त्री ढकालले सरकारले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई आग्रह गरे । यस्तै संसदीय दल बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा समेत छलफल गरिने बताए । तर, उनले बैठक कहिले बस्ने भन्नेबारे भने केही बोलेनन् ।
नेकपाले प्रतिनिधि सभालाई अनिर्णयको बन्दी बनाएको भन्दै कांग्रेसले विरोध गरेको छ । सोही विषयमा धारणा बनाउन कांग्रेस संसदीय दल बैठक अहिले बसीरहेको छ ।
