काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा जानकारी लिएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसद्हरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनाउने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने – ‘राष्ट्रिय सभाको यो दलको बैठक हो । यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पष्ट हुन चाहेका थियौं’ – उनले बैठकबारे जानकारी दिँदै भने – ‘हामीले केही जिज्ञासा राख्यौं र उहाँले त्यसमा जानकारी दिनुभयो । अब हामी यो विषयमा हाम्रो दलभित्र एउटै मत बनोस् भन्ने हिसाबले प्रस्तुत भएका छौं ।’
एमसीसीका विषयमा पछिल्लो समय विवाद हुँदै आएको छ । विशेषगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको हो ।
