काठमाडौं । नयाँ सभामुख चयनका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकको अध्यक्षता गर्दै ज्येष्ठ सदस्य महन्थ ठाकुरले यसको घोषणा गरेका हुन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि राजपा अध्यक्ष मण्डलका नेता समेत रहेका सदस्य ठाकुरले बैठक सञ्चालन गरेका हुन् । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका थिए ।
निर्वाचन मिति घोषणा गरेका ठाकुरले संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन कार्यतालिका आजै प्रकाशित गर्न निर्देशन दिए ।
बैठकमा ठाकुरले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा पनि पढेर सुनाएका थिए ।
