काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखकाे निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ मा चुनाव हुने घोषणा गरे । उनले संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराईलाई सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए । साेही निर्देशन बमाेजिम भट्टराईले कार्यतालिका प्रकाशन गरेका हुन् ।
तालिका अनुसार ७ माघमा प्रतिनिधि सभाका सांसद्ले उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्ने छ । सो प्रस्ताव संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ देखि दिउसो २ बजेभित्र दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ ।
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूची सोही दिन दिउँसो साढे २ बजे प्रकाशन गरिने छ । त्यसपछि १२ मा मा बस्ने बैठकमा सभामुखको चुनाव हुने छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि ठाकुरले बैठक सञ्चालन गरेका हुन् ।
सभामुखका लागि सत्तारुढ नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । सापकोटामाथि अदालतमा विचाराधीन मुद्दा रहेको भन्दै कांग्रेसले त्यसकाे विराेध सचेतक पुष्पा भुसाललाई सभामुखमा उठाउने तयारी गरेको छ ।
