काठमाडौं। बागमती प्रदेश सरकार विस्तारको तयारी भएको छ । माघको तेस्रो सातासम्म सरकार विस्तार हुने स्रोतले जनाएको छ।
संविधान अनुसार प्रदेशमा सात मन्त्रालय र सांसद् संख्याको २० प्रतिशत नबढने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ ।
गत पुस २७ मा प्रदेश सभाले बागमती प्रदेशकाे नाम र राजधानी टुंगो लगाएकाे थियाे । अहिले भने मन्त्रिमण्डल विस्तारको तयारी अगाडि बढेको हाे । मुख्यमन्त्री डारेमणि पौडेलले याे विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग परामर्श गरिसकेका छन् ।
स्रोतका अनुसार हेटौंडा राजधानी राख्ने प्रस्तावको विपक्षमा गएका सांसद्हरुलाई मनाउन मन्त्री बनाउने आश्वासन नेताहरुले दिएका थिए । साे अनुसार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएकाे स्राेतले दावी गरेकाे छ।
स्रोतका अनुसार रामेश्वर फुयाँललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनाउने तयारी भएकाे छ । फुयाँंल अहिले प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतक छन् । उनलाई मन्त्री बनाएपछि सो स्थानमा दीपक निरौलाई लैजाने तयारी गरिएको छ।
अहिले साे मन्त्रालय मुख्यमन्त्री डाेरमणि पाैडेलले सम्हालेका छन् । तत्कालीन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री केशव स्थापितलाई हटाएपछि पौडेलले साे मन्त्रालय आफू मातहत राखेका थिए ।
यस्तैगरी साे प्रदेश सरकारमा आधा दर्जन राज्यमन्त्री थप्ने तयारी भएको एक नेताले बताए। राज्यमन्त्रीका लागि चन्द्र लामा, कुमारी मोक्तान, विशाल खड्का, ज्ञानेन्द्र शाक्य, वसन्त मानन्धर, सरस्वती बस्नेत, सरस्वती बाटी र रचना खड्काको नाम अगाडि सारिएको छ।
