काठमाडौं । समाजमा ‘सभामुख’ भन्नासाथ सुवासचन्द्र नेम्वाङको नाम आउँछ । लामो समय सभामुख रहेका नेम्वाङ आज सभामुख पदका लागि अरु कसैलाई प्रस्ताव गर्ने भूमिका थिए ।
सबैभन्दा लामो समय सभामुख पदमा रहेका नेम्वाङले विगतमा ओनसरी घर्ती र कृष्णबहादुर महरालाई सभामुख पदका लागि प्रस्ताव गरेका थिए । आज अग्निप्रसाद सापकोटालाई सभामुख पदका लागि प्रस्ताव राखे ।
नियम अनुसार प्रस्तावकले केही कुरा बोल्न सक्छन् । प्रतिनिधि सभा बैठकमा कुनै विषयमा कसैले बोल्नुपर्दा सामान्यतया यति समय बोल्ने भनेर सभाका अध्यक्षले समय तोक्छन् । तर, प्रस्तावकले यति समय बोल्ने भनेर सभामुखको कुर्सीमा बसिरहेका महन्थ ठाकुरले तोकेका थिएनन् । अर्थात्, नेम्वाङले लामो समय बोल्न पनि सक्थे, विस्तृतमा बोल्न पनि सक्थे ।
उनले जम्माजम्मी पाँच मिनेट ४० सेकेण्ड मात्र बोले । मिहिन ढंगले केलाउने हो भने पाँच मिनेट ४० सेकेण्डमा उनले केही अर्थपूर्ण कुरा बोले ।
अग्निप्रसाद सापकोटाको पृष्ठभूमिबारे पनि उनले बोले । तर, सापकोटाको पृष्ठभूमि बताउँदा उनले जनयुद्धकारी भूमिका बारे चर्चै गरेनन् । नेम्वाङले सापकोटा ‘लामो समय क्षेत्रमा यो क्षेत्रमा क्रियाशील’ भने । तर, कुन क्षेत्र भनेर खुलाएनन् । उनले राजनीतिक क्षेत्र भन्न खोजेको हुनुपर्छ ।
सापकोटालाई किन सभामुख पदका लागि प्रस्ताव गरिएको हो भन्ने खुलाउनुपर्ने जिम्मेवारी प्रस्तावकको हुनु स्वाभाविक हो । त्यस अनुसार सापकोटालाई प्रस्ताव गरिनुको कारण खुलाउँदै नेम्वाङले भने– ‘या ेभन्दा अगाडिको जीवनकालमा एउटा राम्रो शिक्षकका रुपमा, मेहनती शिक्षकका रुपमा क्रियाशील रहनुहुन्थ्यो । उहाँको यो सबै पृष्ठभूमिलाई ध्यानमा राखेर माननीय अग्निप्रसाद सापकोटालाई सभामुखका रुपमा मैले प्रस्ताव गरेको छु ।’
विगतमा शिक्षक भएकाले अग्निप्रसादलाई सभामुखको जिम्मेवारी उपयुक्त भन्ने आशय नेम्वाङको भनाईमा लक्षित देखिन्छ । जबकि अग्नि सापकोटा तथा उनको सेरोफेरोका नेताहरु आफ्नो जीवनको उपलब्धी र योग्यता १० वर्ष जनयुद्धमा लाग्नुलाई मान्छन् ।
प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा नेम्वाङले दुईटा शब्द विशेष रुपमा उच्चारण गरे– पारदर्शिता र जवाफदेहीता । संसद्को यो अधिवेशनबाट पारदर्शिता र जवाफदेहीतालाई स्थापित गर्नुपर्ने उनले बताए । उनले भने– ‘पारदर्शिता र जवाफदेहीतालाई स्थापित गर्ने प्रकृयालाई नेतृत्व गर्ने, सबै दलको विश्वाश जितेर संसदलाई जिम्मेवारी पूरा गर्ने बाटोतर्फ लैजाने महत्वपूण जिम्मेवारीहरु पूरा गर्न हामीलाई सभामुखको आवश्यकता थियो । ढिलै भए पनि त्यो दिशातर्फ अगाडि बढेका छौं ।’
उनले भने– ‘सिंगो संसद्लाई विश्वाशमा लिएर अगाडि बढ्न सक्ने भूमिका माननीय अग्नि सापकोटाले पूरा गर्नुहुन्छ भन्ने हाम्रो विश्वाश हो ।’
