काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् कमलाकुमारी वलीले महिला र पुरुषमा अझै पनि पारिश्रमिकमा समानता हुन नसकेको बताइन् ।
मंगलबार राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै पञ्चायती व्यवस्था देखि २००३ को विराटनगर जुट मिलमा भएको श्रमिक आन्दोलनमा महिला भुमिका अग्रस्थानमा रहेकाे बताउँदै उनले महिला र पुरुषकाे पारिश्रमिक भने अझै समान हुन नसकेको बताइन् ।
०४७ को संविधानको धारा ११ मा महिला र पुरुषबीच समान काममा पारिश्रमिकमा भेदभाव नगरिने व्यवस्था गरिएकाे भन्दै उनले सो व्यवस्था व्यवहारमा कार्यान्वयन नभएको दावी गरिन् ।
अहिले महिलालाई भोट बैंकको रुपमा मात्र प्रयाेग गरिएकाे आराेप उनले लगाइन् । यस्तै उनले महिला सशक्तिकरणका लागि पुरुष सरह महिलालाई पनि विकास निर्माणमा सहभागी गराउनु पर्ने विचार व्यक्त गरिन् ।
त्यस्तै कांग्रेसका सांसद् ठगेन्द्रप्रसाद पुरीले गरिबी अशिक्षा, पछाैटेपन र बेरोजगारी चुनौतीको रुपमा रहेकाे बताए । यी समस्या समाधान असल नीति तथा कानुनको निर्माण र तिनको प्रभावकारी कार्यान्वयनबाट मात्रै समाधान हुने उनले बताए ।
‘गरिबीका कारण नै मानव बेचबिखन जस्ता जघन्य अपराध भइरहेका छन्’ –उनले भने ।
यसमा खासगरी महिला तथा बालबालिकाहरु बढी सिकार भइरहेकाे भन्दै उनले यसलाई रोक्न राष्ट्रिय कानुन मात्र नभई अन्तर्राष्ट्रिय नीति नै आवश्यक रहेकाे बताए ।
