काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभाको सभामुख पदमा निवार्चित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘यहाँको कार्यकाल सफल रहोस्, हाम्रो संसद्ले पूरा गर्नुपर्ने भुमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने र संसद् सञ्चालनको गहन अभिभारा यहाँको काँधमा आएको छ ।’
सर्वसम्मतले सभामुख निर्वाचित हुनु राम्रो लक्षण हो भन्दै प्रधानमन्त्री ओलीले यसमा खुसी व्यक्त गरे ।
यस्तै प्रधानमन्त्री ओलीले संसद्मा पेश गर्ने तयारी गरिएकाे मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) लाई छिटो पारित गर्नुपर्ने विचार राखेका छन् ।
उनले भने– ‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरु पार गर्दै, ६/७ जना प्रधानमन्त्रीहरुले समेत अगाडि बढाएको एमसीसी प्रस्ताव छिट्टै पारित गर्नुछ, त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु ।’
अब सरकार र संसद् दुबैले कामहरुलाई तीव्र गतिमा अगाडि नबढाए पछाडि परिने उनको भनाइ थियो । जनतामा सार्वभौम सत्ता आइसकेकाले सार्वभौम जनता सबै कुराका अन्तिम निर्णायक शक्ति भएको उनले प्रष्ट पारे ।
दलहरुबीचको एकता नहुँदा प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले दलहरुलाई एकताबद्ध भइ मुलुकको एजेण्डा र विकासलाई सुशासन तर्फ केन्द्रीत गर्नु पर्ने विचार राखे । यस्तै कानुनको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको भन्दै उनले आग्रह, पूर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने बताए ।
विज्ञान, प्रविधि र कनेक्टिभिटीको दृष्टिमा दुनिया तीव्र गतिमा अगाडि बढेकाे उदाहरणा दिँदै उनले त्यो गति समाउन समय खेर फाल्न नहुने भन्दै सबैपक्षलाई साे गति समाउन सक्ने गरी अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
