काठमाडौं । सांसद् वृषेशचन्द्र लालले सरकार सदन प्रति उत्तरदायी हुन नचाहेको आराेप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सदनमा उठेका विषयमा जवाफ दिन सरकारले वेवास्ता गर्दै आएको बताए ।
सरकारले कुरा मात्र ठूलाे गरेकाे बताउँदै उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारले बेवास्ता गरेकाे बताए ।
मणिपाल ग्रुपले थुप्रै जग्गा अस्पताल र कलेज बनाउने नाम लिएर पनि काम अघि नबढाएकाे उनले बताए । सो जग्गाको मूल्य ७ सय करोडभन्दा बढी पुगिसकेकाे बताउँदै उनले भने त्यहाँ अस्पताल र कलेज नबनेकाे भन्दै असन्तुष्टि व्यक्त गरे ।
शिक्षामन्त्रीले याे विषय बुझेर पनि चुप रहेकाे आराेप उनले लगाए । उनले याे विषयमा छिट्टै नै सदनलाई जानकारी गराउन सरकारसँग माग गरे ।
यस्तै उनले जनकपुर उपमहानगरपालिकामा सडक विस्तारका काममा अनियमितता भएकाे बताए । सरकार र एसियाली विकास बैंकको अनुदानमा बनेकाे साे सडकमा अहिलेसम्म १० अर्बभन्दा बढीको नोक्सान भएको बताए ।
अन्य ठाउँमा सडक विस्तारमा आफ्नो घरजग्गा गुमाएकालाई मुआब्जा दिने व्यवस्था भएपनि त्यहाँका ४५ घरपरिवारले क्षतिपूर्ति नपाएको बताए । सर्वोच्च अदालतले समेत मुआब्जा दिन निर्देशन दिएको भएपनि पीडितले आजसम्म मुआब्जा पाउन नसकेको उनले बताए ।
