काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधनको क्रममा धक्का शब्द प्रयोग गरे । त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले ‘धक्का’ शब्दलाई समातेर प्रश्न उठाए ।
‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ?’– देउवाले प्रश्न उठाए ।
प्रधानमन्त्रीले कुन प्रसंगमा धक्का शब्द प्रयोग गरेका थिए भन्ने चाहिँ देउवाले हेक्का राखेनछन् । उनले ‘धक्का’ शब्द मात्र समाते । देउवाले भने– ‘कहाँबाट आउँछ धक्का ? मैले नयाँ शब्द सुनें । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिने रैछ हामीले पनि थाहा पाउनुपर्यो ।’
खासमा भएको के थियो भने प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को प्रसंग उठाउँदै भ्रमण वर्षको सुरुमै प्राकृतिक कारणले केही धक्का लागेको बताएका थिए । केके धक्का लाग्यो भन्ने चाहिँ प्रधानमन्त्रीले खुलाएनन् । शायद उनले मौसमको गडवडी र केही पर्यटकको निधनतिर संकेत गरेका हुनसक्छन् । तर, प्रधानमन्त्री ओलीले नेपाललाई कसैले धक्का दिँदैछ चाहिँ भनेका थिएनन् ।
रमाइलाे त के भने देउवाले 'धक्का कसले दिँदैछ हामी पनि हेरम्' भन्दा कांग्रेस सांसद्हरुले टेबल धपधपाएर समर्थन जनाएका थिए ।
देउवाले धक्का शब्द मात्र बुझेछन् र भने– ‘कसले धक्का दिन सक्छ ? हामी पनि हेरौं । प्रधानमन्त्रीले बोल्नुभएको छ ।’
