काठमाडौं । सांसद् कोमल वलीले सामान्य भनाभन भएको विषयमा पनि गायिका आस्था राउतलाई थुनामा राख्न दिएको आदेश बद्नियतपूर्ण रहेको बताइन् ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बाेल्दै सांसद् कोमलले गायिका आस्थालाई थुनामा राख्ने आदेश दिइएकाेमा असन्तुष्टि जाहेर गरिन् ।
सामान्य विषयमा एफआईआर पर्ना साथ थुन्न आवश्यक नरहेको भन्दै उनले हाजिरीमा उपस्थित गराउन सकिने व्यवस्था रहेकाे बताइन् । अपराधको प्रकृति हेरेर मात्र थुनामा राख्नुपर्ने उनकाे भनाइ छ ।
‘थुन्नु पर्ने कारण के हो ? उ भागेर जाने अवस्था छ कि छैन, उ बाहिर बसे पनि प्रमाणहरु नष्ट हुने अवस्था छ कि छैन' – उनले प्रश्न गरिन् ।
थुनामा राख्नका लागि आस्थाकाे अपराधकाे प्रकृति तथा सम्भावित सजाय तीन वर्ष भन्दा बढी भए नभएकाे हेर्नुपर्नेमा त्यसाे नभएकाे उनले बताइन् ।
आस्थाले कानुनको घेरा बाहिर रहेर काम नगरेको बताउँदै उनले भनिन्– ‘कुरा गर्दा ठूलो स्वर भयो होला, तर कानुनले निषेध गरेको काम आस्थाले गरेको जस्तो देखिदैँन ।’
‘सामान्य घटनामा कसरी थुनामा राख्ने आदेश दिन मिल्छ ? कसैले कसैलाई थुनामा राख भन्नासाथ, उजुरी गर्नासाथ थुन्ने हो भने हाम्रो फौजदारीको न्यायको मूल मर्म नष्ट हुन्छ ’ – उनले भनिन् ।
