काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले सभामुख पद तटस्थ र निष्पक्ष हुने बताए । संसद् विपक्षको हो भन्ने मान्यता संसारमै रहेको बताउँदै उनले पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नै दल सत्तामा हुँदा पनि यही मान्यता राखेको स्मरण गरे । उनले वर्तमान् सभामुखले यो कुरालाई ध्यान दिने विश्वास व्यक्त गरे ।
उनले अहिले संसद्मा ल्याइएका विधेयकहरु प्रेस स्वतन्त्रता र मानवअधिकार प्रतिकूल रहेको बताउँदै उनले यी विधेयकमा नागरिकका सूचना र व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान रहेकाे दावी गरे ।
उनले विपक्षीलाई विश्वासमा लिए काम गर्दा सरकारलाई सहज हुने सुझाव पनि दिए ।
यस्तै पछिल्लाे समय महामारीका रुपमा फैलिएकाे काेराेना भाइरसबारे पनि देउवाले आफ्नाे भनाइ राखे । उनले नेपालमा कोराना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि २४ घण्टा नै सञ्चालन हुने गरी हेल्थ डेस्क राखन र सावधानी अपनाउन सुझाव दिए ।
यस्तै उनले मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) का बारेमा बोल्दै यो यसअघि नै मन्त्रिपरिषद्ले पास गरिसकेको बताए । यो परियोजना मार्फत् आउने सहयोग अहिलेसम्मकै ठूलो रहेको बताउँदै यसले नेपालको विजुली विदेशमा बेच्नका लागि सहज पार्ने बताए ।
उनले यो विषयमा अमेरिकी दूतावासले सैन्य परियोजनासँग असम्बन्धित रहेको र चीनले पनि आपत्ति नभएको बताएकाले यसलाई अघि बढाउनु पर्ने बताए ।
