काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठक नवनियुक्त सभामुखलाई बधाई दिँदै उनले सभामुखकाे वरियता राष्ट्रपति र उपराष्ट्रपतिपछिको हुनुपर्नेमा त्यस्तो नभएकोप्रति ध्यानाकर्षण गराएका हुन् । उनले भने– ‘राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो । तर दुर्भाग्य हामीले अरुको देखासिकी गरेर कार्यकारणीलाई अगाडि राख्यौँ ।’
नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडि रहेको उनले बताए ।
उनले भने– ‘न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन काुननको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका प्रमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ । यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस् भन्ने आग्रह गर्दछु ।’
सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा पर्याप्त छलफल गराउने तर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराए । उनले द्वन्द्वकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने विचार उनले राखे ।
ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भीर विषयमा भएको बताउँदै उनले कुनै एक व्यक्तिको मुद्दालाई लिएर मात्रै कसैलाई फाइदा नहुने बताए ।
टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतका विषयमा सोच्न पनि उनले आग्रह गरे ।
