काठमाडौं । विधायन व्यवस्थापन समितिले पारित गरेको मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी संशाेधन गर्न बनेकाे विधेयक प्रतिवेदन आज बसेको राष्ट्रिय सभा बैठकमा पेश भएको छ ।
प्रतिवेदनलाई सभामा समितिका सभापति पर्शुराम मेघी गुरुङले प्रस्तुत गरेका हुन्0 ।
गत वैशाख २७ मा दर्ता भएको यो विधेयकलाई भदौ १२ गते सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए ।
त्यसपछि भदौ १३ मा भएको सामान्य छलफलपछि भदौ २५ मा दफावार छलफलका लागि साे विधेयकलाई समितिमा पठाइएको थियो ।
११ पटकसम्मको दफावार छलफलपछि माघ १३ गते विधायन समितिले यो विधेयक पारित गरेकाे हाे ।
प्रस्तावित विधेयकमा ३२ दफा थिए । दफावार छलफलको क्रममा २६ वटा दफामा १ सय ३ वटा संशोधन दर्ता भएको सभापति मेघीले सभालाई जानकारी दिए ।
उनका अनुसार समितिको छलफलबाट २१ वटा दफामा संशोधन गरिनुका साथै तीन वटा दफा थप गरी जम्मा ३५ वटा दफा कायम भएकाे छ ।
