काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार बस्दैछ ।
बैठकमा विभिन्न विधेयकबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराइनेछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ ।
नेपाल इन्जिनियरिङ परिषद (पहिलो संसोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरु पेस गर्ने कार्यसूची छ । जसअनुसार न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी, थारु र मुस्लिम आयोगका वार्षिक प्रतिवेदन पेस हुने छन् ।
प्रतिनिधि सभाका पूर्व सांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ । कार्कीको गत माघ ११ गते निधन भएको थियो । कार्की ०४८ सालमा कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
