काठमाडौं । सांसद् गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएकोमा आपत्ति जनाएका छन् ।
गृह मन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै सांसद् महतले आक्रोश पोखे । प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले भने– ‘हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी..., गृह मन्त्रालयकाे काम यस्तै छ, छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’
उनले अगाडि थपे – ‘आठ जना मानिसको होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौं मानिसको गाडीमा मृत्यु भएको छ, बस भत्काउँदै आगो लगाउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन ?’
सांसद् महतले चाहिँदो काम गर्न सुझाव दिँदै भने– ‘जिल्लामा जाने नुन र औषधि बेचिएको छ, भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु पर्याे ।’
भौतिक संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै उनले प्रश्न गरे– ‘बाटोको अवस्था के छ, स्कुलको अवस्था के छ, अस्पतालको अवस्था के छ, पुलहरुको बेहाल छ, ठेकेदार कहाँ भागेको छ ? त्यो हेर्नुपर्दैन ?'
