काठमाडौं । प्रतिनिधि सभाका समितिहरुमा हेरफेर गरिएकाे छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले समितिहरुमा सदस्य हेरफेर गरेकाे हाे ।
कार्यव्यवस्था परामर्श समितिका सदस्य रामेश्वर राय यादव मन्त्री बनेपछि रिक्त रहेकाे सदस्यमा प्रभु साहलाई ल्याइएको छ । समिति हेरफेरमा केही समय अघि मन्त्री पदबाट हटेकाहरुलाई व्यवस्थापन गरिएकाे छ भने पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई उद्योग तथा वाणिज्य र श्रम तथा हित उपभोक्ता समितिमा राखिएकाे छ ।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई अर्थ समितिमा ल्याइएको छ ।
यस्तै पूर्व मन्त्री मात्रिकाप्रसाद यादवलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा र पूर्व मन्त्री थममाया थापालाई महिला तथा सामाजिक समिति सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै पूर्व मन्त्री चक्रपाणि खनाल, रघुविर महासेठ र पूर्व राज्यमन्त्री धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिमा ल्याइएको छ ।
यस्तै रामकुमारी चौधरीलाई कानुन, न्याय तथा मानव अधिकार समिति तथा विद्या भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा ल्याइएको छ भने पदम गिरीलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिकाे सदस्य रहेकी मायादेवी न्याैपानेलाई उद्योग तथा वाणिज्य र श्रम तथा हित उपभोक्ता समितिमा लगिएको छ ।
