काठमाडौं । प्रतिनिधि सभामा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगका प्रतिवेदन पेस गरे ।
मन्त्री ढकालले विभिन्न आठ वटा आयोगका प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझाउनेमा कामै नगरेका र पूर्णता समेत नपाएका आयोग पनि छन् । मन्त्री ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष ०७५/०७६ को वार्षिक प्रतिवेदन’ पेस गरे ।
उनले लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन बैठकमा पेस गरे ।
मन्त्री ढकालले नै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव ०७५/०७६ प्रथम वार्षिक प्रतिवेदन’ पेस गरे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएका छैनन् ।
राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराए ।
योगीले नै नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन ) विधेयक २०७६ र संघ, प्रदेश र पालिका (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे ।
शोक प्रस्ताव पारित
प्रतिनिधि सभाको शुक्रबारको बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेस गरेको प्रस्ताव बैठकले पारित गरेको हो ।
कार्की ०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । कार्कीकाे माघ ११ गते निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही माघ २१ गते दिउसाे १ बजे बस्नेछ ।
