काठमाडौं । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा नेकपा सांसद् आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन् । 'नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन्', उनले भनिन्- 'तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।'
राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नहुनु अत्यन्त पीडादायक अवस्था भएको भन्दै उनले महानगरको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले मादपण्डअनुसारको शौचालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपाकी इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल भएको आरोप लगाइन् । चुरे दोहन रोक्न नसक्दा माफिया मौलाएको भन्दै उनले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गरिन् ।
नेकपाकै कुमारी तुलसी थापाले तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याएको भन्दै किसानलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई अहिलेसम्म पनि राहतको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् ।
नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । “तत्कालका लागि चीनबाट आवातजावत बन्द गरियोस्, नागरिकलाई उच्च सतर्कताको व्यवस्था मिलाइयोस्”, उनले भने ।
नेकपाका घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएए ।
नेपाली कांग्रेससका जिपछिरिङ लामाले शून्य समयमा सांसद्ले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाए । उनले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म एक सय २८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटना हुने गरेकाे भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गरे । उनले सो सडक विस्तार गरी आठ लेनको बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
