काठमाडौं । राष्ट्रिय सभा बैठक आइतबार बस्दै छ ।
अाइतबारकाे बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।
मन्त्री बाँस्कोटाले नै साे विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ । बैठक बिहान ११ बजे बस्दैछ ।
