काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विधि, पद्धति र प्रक्रियाको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा बाेल्दै उनले भने– ‘विधि, पद्धति र प्रक्रियाको पूर्ण पालना गर्नेछु, राष्ट्र र जनताको हितमा काम गर्नेछु ।’
प्रतिनिधि सभाको गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ काम गर्ने भन्दै उनले त्यसमा सहयोग गर्न सांसदहरूको सहयोग चाहिने बताए ।
लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि सक्दो प्रयास गर्ने सभामुख सापकोटाको भनाइ छ ।
यसअघि साे समिति सदस्य रहेका सापकोटालाई सभामुखमा निर्वाचित भएपछि आइतबार बधाई तथा शुभकामना दिन बैठक बोलाइएको थियो ।
कार्यक्रममा समितिका सदस्यहरुले सभामुख सापकोटालाई वधाई दिएका थिए ।
राष्ट्रघात हुने कुनै काम नगर्न उनीहरुले सभामुखलाई सचेत गराएका थिए । सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने समेत प्रतिबद्धता जनाए ।
सापकोटा गत १२ माघमा सभामुख चयन भएका थिए ।
