काठमाडाैं । सांसद् राधेश्याम अधिकारीले सामुदायिक विद्यालयमा राजनीति हुने गरेकाे बताए । उनले शिक्षालाई राजनीति मुक्त गराउन आवश्यक रहेकाे बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद् अधिकारीले साे कुरा बताएका हुन् ।
उनले राज्यका निर्देशक सिद्धान्त तथा दायित्व समिति अन्तर्गतको अनुगमन समितिले रौतहट जिल्लामा अनुगमन गर्दा देखिएका विषय सदनलाई जानकारी दिँदै शिक्षामा राजनीतिकाे अन्त्य हुनु पर्ने आवश्यकता रहेकाे बताए ।
उनले भने– ‘वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिमा बस्ने र व्यवस्थापन समितिको सदस्य बन्नकै लागी गोली समेत चल्ने अवस्थाले त्यसभित्रको राजनीति स्पष्ट भएको छ । त्यसैले शिक्षालाई राजनीति मुक्त गर्न आवश्यक रहेको छ ।’
यस्तै उनले दरबन्दी अनुसार शिक्षक अभाव हुँदा सामुदायिक विद्यालय शिक्षाको गुणस्तर न्यून रहेकाे बताए। एउटा माध्यमिक शिक्षकले सिंगो विद्यालय सञ्चालन गर्ने गरेको र शिक्षककाे संख्या पर्याप्त नहुँदा दैनिक ७ वटा कक्षा हुनुपर्नेमा ४ वटा मात्र कक्षा हुने गरेको उनले बताए । यी समस्या तत्काल सम्बोधनका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले छात्राहरुले सरकारले वितरण गर्ने भनेको सेनेटेरी प्याड पाएको, पुस्तक सबैमा पुगेको, विद्यालयको पुर्वाधारमा सुधार आएको, दिवा खाजाको व्यवस्थाले विपन्न विद्यार्थीलाई राहत पुगेको पनि बताए ।
शिक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि चिकित्सकको आवश्यक दरबन्दी नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको विचार उनले राखे । उनले भने– ‘आधारभूत शिक्षा र स्वास्थ्य सेवालाई माथि उकास्ने हो भने दुवै क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी छ ।’
