काठमाडौं । सांसद् बिमला राई पौडेलले फिटनेस सेन्टरहरुको मापदण्डमा प्रश्न उठाएकी छिन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले फिटनेस सेन्टरको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
गत माघ १५ गते ललितपुरको सातदोबाटो बिशाल चोकमा फिट एण्ड फाईन एरोविक्स फिटनेस सेन्टरमा सौना लिन गएका दम्पति हस्त गुर्जवा पुनमगर र नेत्रकुमारी मगरको मृत्यु भएको थियो ।
सांसद् विमलाले च्याउ उम्रे जसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गरी मापदण्ड अनुसार भए नभएको जाँच गर्न माग गरिन् । यस्तै ती फिटनेस सेन्टरलाई सम्बन्धित निकायप्रति जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिइन् ।
उनले प्रश्न सोधिन् – ‘फिटनेस सेन्टरहरु खोल्ने कसले हो ? यसको रजिष्ट्रेशन कहाँ हुन्छ ? यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ?’
उनले सौनामा नुहाउन ६ बजे छिरेको मान्छे ९ बजे सम्म निस्कँदैन भने हेर्ने दायित्व कर्मचारीको हुने की नहुने भन्दै यी सबैको व्यवस्थापनमा तुरुन्तै सम्बन्धित निकाएको ध्यानाकर्षण गराइन् ।
