काठमाडौं । केपी शर्मा अाेलीकाे सरकारले दुई वर्षकाे अवधिमा पुल निर्माणमा अाश्चर्यजनक सफलता हासिल गरेकाे छ । सरकारले दुई वर्षमा चार सय २५ वटा पुल बनाएकाे छ । अहिले नेपालमा करिब एक हजार ६ सय पुल बनिरहेकाे छ ।
नेपालकाे इतिहासमा यति छाेटाे अवधिमा यति धेरै संख्यामा पुल कहिले पनि बनेकाे थिएन ।
अहिले देशभर जताततै पुल बनाउने काम भइरहेकाे छ । सडक विभाग अन्तर्गत अहिले दुई हजार ९१ वटा पूल बनाइँदै छ । याे जानकारी सडक विभागकाे पुल महाशाखाका उपमहानिर्देशक दीपककुमार भट्टराईले दिएका हुन् ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा देशभरका पूलहरुको अवस्थाबारे जानकारी दिँदै उनले भने– ‘रणनीतिक र स्थानीय सडकमा गरी दुई हजार ९१ वटा पुल बनाउनुपर्छ, ती मध्ये हालसम्म ४२५ निर्माण भइसकेका छन्, एक हजार ६ सय निर्माणाधीन छन् ।’
गत र चालु आर्थिक वर्षमा गरेर दुई हजार ५१ मध्ये स्थानीय सडकमा एक सय ४३ वटा पुल निर्माण गरिएको उनले जानकारी दिए ।
रणनीतिक सडकमा ६४ वटा पुल निर्माणको काम सकिएको उनले बताए । भट्टराईका अनुसार हुलाकी राजमार्गमा ८५, मदन भण्डारी राजमार्गमा ६० र मध्यपहाडी लोकमार्गमा ७३ वटा पुल निर्माण भएकाे छ ।
समग्रमा चार सय २९ वटा पुल डिजाइन प्रक्रियामा रहेका भन्दै उनले डिजाइन एण्ड बील्ड प्रक्रियामा एक सय तीन पूल रहेकाे समितिलाई जानकारी गराए । सामान्य रुपमा अाठ सय ९५ वटा पुल निर्माणाधीन अवस्थामा सञ्चालन रहेका उनले बताए ।
केही पुल निर्माणमा समस्या रहेकाे पनि उनले बताए ।
यी कारण समस्यामा छन् पुल
सरकारले सुल्झाउनुपर्ने समस्या तथा निर्माण व्यवसायी र काबु बाहिरको परिस्थितिका कारण केही पुल निर्माणमा समस्या भएको उनले बताए । उपमहानिर्देशक भट्टराईका अनुसार अहिले सरकारले समस्या सुल्झाइदिनुपर्ने पूलको संख्या ३७ छ । ती मध्ये धेरै पुलको डिजाइनमै समस्या छ ।
निर्माण व्यवसायीका कारण ९६ वटा पुल समस्यामा रहेकाे उनले बताए । काबु बाहिरको पस्थितिले ५१ वटा पुल समस्यामा छ ।
यस्तो छ पुलहरुको अवस्था:
स्थानीय सडक पुल
बजेट शीर्षक अनुसार स्थानीय सडक पुल अन्तर्गत ११ सय ३७ वटा बनाउनुपर्ने उनले बताए ।
जसअनुसार दुई सय ३३ वटा डिजाइन प्रक्रियामा रहेको उनको भनाइ छ । ६४ वटा पुलको डिजाइन सम्पन्न भइसकेको छ । डिजाइन एण्ड बील्ड प्रक्रियाबाट निर्माण गर्नुपर्ने ६९ वटा पुल छ । पाँच सय वटा पुल निर्माणाधीन अवस्थामा रहेकाे उनले बताए ।
रणनीतिक सडक पुल
भट्टराईका अनुसार रणनीतिक सडक अन्तर्गत तीन सय २२ वटा पुल निर्माण गर्नुपर्छ ।
ती मध्ये ३८ वटा डिजाइन प्रक्रियामा छ । तीन वटाको डिजाइन सम्पन्न भइसकेको छ । डिजाइन एण्ड बील्ड प्रक्रियामा ३८ वटा पुल छ। एक सय ४० वटा पुल निर्माणाधीन छ ।
हुलाकी राजमार्ग
रणनीतिक सडक अन्तर्गत नै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत दुई सय १९ वटा पुल बनाउनुपर्छ । ती मध्ये ७७ वटा पूल डिजाइनको क्रममा छ । ६० वटा पुल सञ्चालनमा छ ।
मदन भण्डारी राजमार्ग
यस अन्तर्गत एक सय ८२ पुल निर्माण गर्नुपर्ने छ । ती मध्ये ४४ वटा पुल डिजाइन प्रक्रियामा छ । ७८ वटा पुल सामान्य रुपमा निर्माणाधीन अवस्थामा छ ।
मध्यपहाडी लोकमार्ग
यस अन्तर्गत एक सय २९ वटा पुल निर्माण गर्नुपर्छ । ती मध्ये ३७ वटा डिजाइन प्रक्रियामा छ । १५ वटा सामान्य रुपमा निर्मााणाधीन छ । केहीकाे निर्माण सम्पन्न भएकाे छ ।
उत्तर–दक्षिण सडक योजना
सो योजना अन्तर्गत ६८ वटा पुल निर्माणाधीन अवस्थामा छ ।
वैदेशिक सहायता
वैदेशिक सहायता अन्तर्गत विशेषगरी विश्व बैंकको सहयोगमा देशका विभिन्न ठाउँमा पुल बन्दैछ । विश्व बैंककाे सहयाेगका ३४ वटा पुल बनिरहेकाे छ ।
