काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सोमबार ललितपुर महानगरपालिकाको न्यायिक समितिको भ्रमण गरेको छ । न्यायिक समितिमा आइरहेका मुद्दाका प्रकृति, मुद्दा सुनुवाइको अवस्थालगायतका विषयमा बुझ्न समिति महानगर पुगेको हो ।
समिति सभापति तारादेवी भट्टलगायतका सदस्यहरूले महानगरपालिकाका कर्मचारीलगायतसँग मुद्दाका विषयमा जानकारी लिएको बताइन् ।
त्यस्तै न्यायिक समितिमा रहेका चुनौतीका विषयमा पनि जानकारी लिइएको सभापति भट्टले जानकारी दिइन् । न्यायिक समितिमा खासगरी सहकारी क्षेत्रका मुद्दा आउने गरेको पाइएको उनको भनाइ छ ।
समितिले आगामी दिनमा अरु पालिकामा समेत पुगेर त्यहाँको कामकारबाहीका बारेमा जानकारी लिने योजना रहेको बताइन् । उनले भनिन्– ‘हामीले वार्षिक कार्ययोजनामा नै विभिन्न पालिकामा पुग्ने योजना बनाएका छौँ ।’
समितिको उद्देश्य सरकारलाई सहयोग गर्नु भएकाले तीनै तहका सरकारको काम कारवाही हेरेर आवश्यक सल्लाह सुझाव दिने गरिएको सभापति भट्टले बताइन् । समितिको कार्यक्षेत्र सबै मन्त्रालय र तीन तहको सरकार भएकाले उनीहरुसँग नजिक रहेर काम गरिरहेको उनको भनाइ छ ।
उनले सुशासन र दिगो विकास सरकारकै लक्ष्य भएकाले समितिले पनि त्यसमा सघाउन लागिपरेको बताइन् । उनले भनिन्– ‘हामीले आवश्यक पर्दा उहाँहरुलाई बोलाएरै पनि छलफल गरिरहेका छौँ ।’
