काठमाडौं । नेकपाकी सांसद् निरुदेवी पालले एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिएकी छिन् ।
छाउगोठ भत्काउँदा 'केही दाजुभाईको टाउको दुखेको' भन्दै उनले यस्तो चुनौती दिएकी हुन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले भनिन्– ‘सुदूरपश्चिम र कर्णालीबासीले टाउको उठाइरहेका बेला अरुको टाउको दुखेकोमा गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु, विरोध गर्नेलाई कम्तिमा एक दिन छाउगाेठमा बसेर देखाइदिन अनुरोध गर्छु।’
गृह मन्त्रालयले छाउगोठ भत्काएर राम्रो काम गरेकाे भन्दै अहिले सम्म १२ जिल्लाका आठ हजार ७ सय छाउगाेठ भत्काइएको निरुदेवीले बताइन् । उनले भनिन् – ‘डलर खेती गर्नेहरुले टाउको दुखाउनु स्वभाविक हो किनकी ती छाउगाेठ देखाएर अाम्दानी गर्ने उहाँहरुको प्रयास असफल भयो । तर, अरुको टाउको दुख्नु पर्ने कारण मैले बुझ्न सकिन । त्यस्ताे टाउकाे दुखाई भएका दाजुभाइले एक दिन भए पनि छाउगाेठमा बसेर देखाइदिनुपर्याे ।’
गृह मन्त्रालयले छाउगाेठ भत्काएकाेमा उनले धन्यवाद दिइन् ।
सुदूर र मध्य पश्चिमका महिलाहरुले डेढ फिटे साना गोठ कटेरा मुनि बसेर महिनाको चार दिन आफ्नो ज्यान आहुति दिनु पर्ने अवस्थाको अन्त्य भएको उनले बताइन् ।
यसअघि माघ १७ को प्रतिनिधि सभा बैठकमा सांसद् गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएकोमा आपत्ति जनाएका थिए ।
