काठमाडौं । छिमेकी चीनमा देखिएको कोरोना भाइरसबाट नेपाल पूर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश प्रतिनिधि सभाबाट विश्वव्यापी रुपमा दिइएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाको आजको बैठकमा भने– ‘नेपाल पूर्ण सुरक्षित छ । कुनै पनि प्रकारको अवस्थासँग लड्न हामी सक्षम छौं ।’
चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल फर्काउने तयारीमा सरकार रहेको उनले बताए । कोरोनाबारे सरकारको तर्फबाट जानकारी दिन समय लिएर प्रतिनिधि सभामा मन्त्री ढकालले आवश्यक पर्दा सरकार चीनमा रहेका विद्यार्थीलाई विलम्ब नगरी ल्याउने तयारीमा रहेको बताए ।
स्वेदश फर्कन हालसम्म १८० जनाले फर्म भरेका बताउँदै उनले ती विद्यार्थीहरुको चीनमा स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने जानकारी दिए ।
कोरोना नियन्त्रणका अन्तराष्ट्रिय अनुभवलाई हेरेर सरकारले एकातिर विद्यार्थी र नेपाली जनता यस रोगबाट संक्रमित नहुन भनेर जोखिम न्यूनीकरण गर्ने तयारीमा सरकार लागेका मन्त्री ढकालले बताए ।
‘चीनबाट ल्याइएका व्यक्तिहरुबाट अरुमा संक्रमण नहोस् । अथवा ल्याउने प्रक्रियामा नलागेका रोगहरु अरु झन्झट नपरोस् भनेर यो विषयमा चनाखो र सावधान लाग्नुपर्ने आवश्यकता छ’ उनले भने– ‘त्यहाँ रहेका नेपालीहरुलाई ल्याउने, ल्याउनुभन्दा अगाडि नेपालमा आवश्यक तयारी गर्ने र जोखिम नहुने कुराको सुनिश्चितता गर्नेमा हामी लागेका छौं ।’ चीनबाट ल्याइने विद्यार्थीलाई कुन ठाउँमा राख्ने निष्कर्षमा सरकार पुगेको उनले बताए । ल्याइएका विद्यार्थीहरुलाई लिन जाने आफन्तको पनि सुरक्षाको व्यवस्था गरिने मन्त्री ढकालले बताए ।
कोरोना भाइरसबाट संक्रमित व्यक्तिले अरुलाई नसरोस् भनेर संक्रामक रोग २०२० को दफा २ को उपदफा ३ अन्तर्गत सरकारवले आदेश जारी गरेको उनले बताए ।
रोग देखिएका व्यक्तिलाई अस्पतालमा लाने र आइसोलेटेड बेडमा राखेर उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले तीनवटा अस्पतालमा ४३ वटा आइसोलेटेड वेडको व्यवस्था गरिएको उनले बताए ।
रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिमको ठाउँ मानेर सुरक्षात्मक उपाय अपनाइएको उनले जानकारी दिए । यस्ता विपद्हरुलाई मध्यनजर गरी सरकारको तीन सय वेडको अस्पताल बनाउने तयारी गरेको पनि मन्त्री ढकालले बताए ।
नेपाल सरकारले अपनाइरहेको सुरक्षात्मक उपायहरुको विश्व स्वास्थ्य संगठनले समेत प्रशंसा गरेको उनले सुनाए ।
अहिलेसम्म कोरोनाको आशंकामा १३ जनाको परीक्षण गरिएको तर कसैलाई रोग नदेखिएको जानकारी दिँदै मन्त्री ढकालले यो रोगबाट बच्न आन्तरिक रुपमा धेरै नै तयारी गरेको मन्त्री ढकालले दावी गरे ।
कोरोना विरुद्ध लड्न स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र प्राविधिक काम व्यवस्थापन गर्न स्वास्थ्य सचिवको नेतृत्वमा कार्यकारी कमिति बनाइएको उनले जानकारी दिए ।
