काठमाडौं । राष्ट्रिय सभा बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकमाथि छलफल हुँदैछ ।
साे विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल भएको थियो । विधेयकमा समितिले केही संशोधन गरेर सभामा प्रतिवेदन पेस गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले बुधबार सभामा साे विधेयकमाथि समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । विधेयकमाथि छलफल सकिएपछि मन्त्री भट्टले आजै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
बुधबारको बैठकमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्रीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठक दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएकाे छ ।
