काठमाडाै । राष्ट्रिय सभाकाे बैठकमा रामप्रीत पासवानले कविता सुनाएका छन् । विशेष समयमा बाेल्ने क्रममा उनले कविता सुनाएका हुन् । उनले बाेल्न पाँच मिनेट समय पाएका थिए । केही भूमिका बाँधेपछि उनले कविता सुनाउन थालेका थिए । तर, उनले कविता भन्छु नभनी कविता वाचन गरेका थिए । उनले कविताकाे शीर्षक पनि भनेनन् । नेपाली युवाले कविता र मुक्तक गाइरहेकाे भन्दै युवाकाे अावाज सुनाउँछु भन्दै उनले सुनाएकाे कविता यस्ताे छ :-
नेपालीहरु खोज्दैछन् विकास र समृद्धि
अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झाँगिसक्यो
शैशव कालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो।
समानता स्वतन्त्र सिकिस्त छन्
लोकतन्त्र पनि थला परिसक्यो
संघीयता, गणतन्त्र छटपटिँदै छन् यहाँ
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिमा नागरिकता दिँदैनौँ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेसी
गास, बास, कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छाै
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैँ किन बिक्छौ?
यहाँ सम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?
सरकार,
न्याय र समानताको नारा लगाउँछौ बेस्सरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छाै भोज
जनता किन भोकै छ गर्यौ कहिले खोज ?
देश बनाउने युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान
के पाए युवाले ? सिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी ? गर्न वाइड वडी र एनसेल काण्ड
पुर्खाकाे पौरख गुमाउँदै हसाई पूरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो
के गर्यौ सरकार कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो।
