काठमाडौं । सांसद् रामनारायण बिडारीले राष्ट्रिय अनुसन्धान विभाग तलब खाने अड्डा मात्र भएको बताएका छन् । विभागमा सीप, क्षमता र इमान नभएका मान्छेको हालीमुहाली हुने गरेको उनले आरोप लगाए ।
बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले विभागमा कुनै परीक्षा बिना कर्मचारी राखिने गरेकाले कामै गर्न नसकेको विचार राखे । विभागलाई गुप्तचरी अड्डा भनिएपनि अहिलेसम्म विभागले गुप्तचरी गर्न नजानेको तर शासकको चाकडी गर्दै बसेको उनले आरोप लगाए ।
काम गरेको भए नेपालले आजसम्म अन्य देशसँग गरेको सन्धि तथा सम्झौता खै भन्दै उनले प्रश्न समेत गरे । यस्तै नेपालको विभिन्न कालखण्डको नक्सा पनि नरहेको र नेपालका मूर्तिहरु विदेश पुग्दा समेत विभागले केही खबर राख्ने नै नगरेको उनको भनाइ छ ।
विभागले ठूला पदमा सरकारका जागिर खानेहरु रातिराति विदेशी एजेन्टसँग भेट्ने गरेपनि त्यसको जानकारी सरकारसम्म नआइपुगेको उनले बताए । यसको सूचना विभागले राख्नुपर्ने भएपनि राख्न नसकेको उनले आरोप लगाए ।
विदेशीसँग भेटेर ती कर्मचारीहरुले व्यक्तिगत पहल गर्दै विदेशमा स्थायी बसोबास अनुमति (पीआर) लिने गरेको तर विभाग यसमा बेखबर रहेको उनले बताए । सरकारी जागिर खाने र जागिर छोड्ने बेलामा तीनै विदेशी संलग्न संस्थामा जागिर खाने तथा विदेशमा बस्ने चाँजो मिलाउने काम हुने गरेको उनले बताए । तर यी सबै सूचना विभागले सरकारलाई अहिलेसम्म दिन नसकेको उनको भनाइ छ ।
त्यस्ता कर्मचारीले राष्ट्रको गोपनियता भंग गर्ने गरेपनि विभागले त्यसको सूचना लिने कामै नगरेको आरोप उनले लगाए । ठूला पदमा बस्नेले विदेशमा गइ स्थायी बसोबास गर्न नपाउने तथा विदेशी संस्थामा जागिर खान नपाउने व्यवस्था गर्न उनले माग समेत गरे ।
