काठमाडौं । प्रतिनिधि सभामा कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक प्रस्तुत हुने भएको छ ।
बिहीबार दिउँसाे बस्ने बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । सभाले अनुमति दिएपछि गृह मन्त्री थापाले आज यो विधेयक पेस गर्ने छन् ।
यस्तै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पनि बिहीबार प्रस्तुत हुने कार्यसूची छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने छन् । सभाले अनुमति दिएपछि विधेयक पेस हुने छ ।
बिहीबारकाे बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ । बैठक दिउँसो एक बजे बस्दैछ ।
