काठमाडौं । सांसद् दिपा गुरुङले एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मृत्यु भएका सिमप्रसाद गुरुङको परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् छिन् ।
गत वर्ष फागुन १० गते विप्लव समूहले एनसेलको मुख्यालय नख्खुमा बम विस्फोट गराएको थियो । सो घटनामा परी सुरक्षा गार्डमा कार्यरत सिमप्रसाद गुरुङको मृत्यु भएको थियो ।
बिहीबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद् गुरुङले सिमप्रसादको परिवारले अहिलेसम्म क्षतिपूर्ती नपाएको बताइन् । सरकारले उनको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिने र उनका दुई सन्तानलाई निशुल्क उच्च शिक्षा दिने भनेपनि सो अनुसार हुन नसकेको उनको भनाइ छ ।
यसअघि पनि उनले राष्ट्रिय सभामा यो विषयमा बोलिसकेको र घटना भएको एक वर्ष हुन लागेको भन्दै पुनः यसमा ध्यानाकर्षण गराउन चाहेको बताइन् ।
