काठमाडौं । राष्ट्रिय सभाबाट ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७५’ पारित भएको छ ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेश गरेको सो विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामा सो विधेयक सर्वसम्मत पारित भयो ।
अध्यक्ष तिमिल्सिनाले विधेयक सर्वसम्मतिबाट पारित भएको घोषणा गरे ।
विधेयकबाट पत्रकारका बन्नका लागि परीक्षा दिनुपर्ने र लाइसेन्स लिनुपर्ने प्रावधान हटाइएको छ । विधेयकबाट सो व्यवस्था हटेको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।
नेकपाका सांसद खिमलाल भट्टराईले नै विधेयकमा संशोेधन प्रस्ताव राखेका थिए । उनले पत्रकारको परीक्षा व्यवस्था, पत्रकारको लाइसेन्स सम्बन्धी व्यवस्था हटाउन प्रस्ताव गरेका हुन् । प्रस्ताव राख्दै उनले मिडियालाई नियमन गर्नुपर्नेमा सबै सहमत देखिएको बताए ।
यस्तै सांसद् कोमल वलीले संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको बताउँदै परीक्षाको व्यवस्था ल्याउन उपयुक्त नहुने विचार राखिन् । १२ हजार पत्रकार आबद्ध रहेको पत्रकार महासंघले पनि यसको विरोध गरेकाले सो प्रावधानमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद् राधेश्याम अधिकारीले पत्रकारहरुको पाठक, दर्शक र स्रोताबाट नै परीक्षा हुने गरेको बताए । राम्रो काम गरेमा पत्रकार स्वीकृत हुने र नराम्रो काम गरेमा अस्वीकृत हुने बताउँदै उनले परीक्षाको औचित्य नरहेको विचार राखे । 'सञ्चारकर्मीको हरेक दिन परीक्षा भइरहेको हुन्छ, श्रोता, पाठकले मन नपराए आफैँ हराएर जान्छ भने अर्काे परीक्षा किन आवश्यक भयो' -सांसद् अधिकारीले भने ।
सांसद् रामप्रित पासवानले परीक्षा लिने काम संविधानको मर्म विपरित हुने भएकाले संशोधनमा समर्थन रहेको बताए ।
विधेयकमाथि आज भएको छलफलका जीवन बुढा, विमला राई पौडेल लगायतले धारणा राखेका थिए ।
