काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधि सभा बैठक चल्न नदिने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल बैठकले सदन अवरोध गर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले सनराइज खबरलाई बताइन् । उनले भनिन्– ‘उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधका अाधारमा मुद्दा दर्ता गरिएको विरोधमा हिजाेकै निरन्तर्ता स्वरुप बैठक अवरोध गर्ने निर्णय भयाे ।’
गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेको थियाे । गच्छादारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले सडक र सदन अान्दाेलन गर्ने बताउदै अाएकाे छ ।
यस्ताे छ बैठककाे कार्यसूची
शुक्रबार कारागार विधेयक पेस हुने कार्यसूची छ । गृहमन्त्री रामबहादुर थापाले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अनुमतिपछि मन्त्री थापाले नै विधेयक सभामा पेस गर्ने छन् ।
अाज नै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पेस हुँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अनुमतिपछि मन्त्री भुसालले नै विधेयक पेस गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्तकुमार नेम्बाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठक दिउँसो एक बजे बस्दै छ ।
