काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
शुक्रबार बसेको पहिलो बैठक कांग्रेसले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । बैठक फेरि बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको हाे ।
संसद सचिवालयले सूचना टाँसेर माघ २६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएको हो ।
उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधका अाधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको विरोधमा कांग्रेसले बिहीबार बसेको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेको थियाे ।
गच्छादारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले सडक र सदन अान्दाेलन गर्ने बताउदै अाएकाे छ । गच्छदारलगायत एक सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
