काठमाडौं । प्रतिनिधि सभाका नयाँ सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही पनि नयाँ तरिकाले नै चलाउन थालेका छन् । अाज कांग्रेसले सदन बैठक अवरुद्ध गर्दा सभामुख सापकाेटाले नयाँ शैली देखाएका हुन् ।
सदनको कारवाही गर्ने पक्षले बोल्न पाउने, अरुले चाहिँ सुनेर बस्नुपर्ने परम्पराको सभामुख सापकोटाले अन्त्य गरेका छन् ।
नेपालको तीन दशकको संसदीय अभ्यासमा सदनको कारवाही अवरुद्ध गर्ने पार्टीले बोल्न पाउने परम्परा थियो । यही परम्परा अनुसार गत दुई बैठकमा कांग्रेसकी पुष्पा भुषाल र मिन विश्वकर्माले सदनमा बोलेका थिए । उनीहरुले बोल्दा समयको सीमा पनि थिएन । उनीहरु एकोहोरो बोलेका थिए, सभामुख र सत्तापक्ष सुनेर बसिरहेका थिए ।
सदन अवरुद्ध गर्ने पक्षले बोल्न पाउने, अरुले बोल्न नपाउने प्रथाका कारण जहिले पनि सत्तापक्ष पीडित बन्ने गरेको छ । संविधान सभाको अन्त्यतिर तत्कालीन एमालेले निरन्तर सदन अवरुद्ध गर्दा एउटा सहमति गर्याे । सो सहमति अनुसार शून्य समय र विशेष समयमा सदन अवरुद्ध गर्न नपाइने, सबै पार्टी र सांसद्ले बोल्न पाउने, सबैले बोलिसकेपछि व्यवस्थापन कार्य सुरु हुँदा मात्र सदन अवरुद्ध गर्ने गरियाे।
तर, यस पटक त्यस्तो सहमतिलाई निरन्तरता दिइएन । त्यसैले कांग्रेसले सदनमा आफ्नो कुरा राख्न पाउने, सत्तापक्षले राख्न नपाउने अवस्था सिर्जना भयो । त्यसैले आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षले आफूहरुले पनि बोल्न पाउनुपर्ने माग गरेका थिए । तर, कांग्रेस यसमा सहमत भएन । त्यसपछि सभामुखले कसैलाई पनि बोल्न नदिने बरु आफैं बोल्ने रणनीति अपनाए ।
आजको बैठक सुरु भएपछि कांग्रेसको तर्फबाट बोल्न दिलेन्द्रप्रसाद वडु तम्सिएका थिए । तर, उनलाई सभामुखले माइकको लाइन नै दिएनन् । सभामुखले माइकमा लाइन नदिँदा सांसद्ले बोल्न त सक्छन् तर सभा हलको स्पीकरमा भने आवाज आउँदैन । अर्थात्, जसले बोल्छ उसका वरिपरिकाले सुन्न सक्छन्, अरुले सुन्न सक्दैनन् ।
आजको बैठकमा दिलेन्द्र वडुले करिब डेढ मिनेट बोलेका थिए । तर, माइक बिना नै । डेढ मिनेछपछि सभामुखले हस्तक्षेप गरे । आफैं बोल्न थाले । सभामुखले भने– ‘माननीय सदस्य, मैले बोल्न तपाईंलाई समय नै दिएको छैन ।’
बिगतको दुई बैठकमा कांग्रेसले सदन अवरोध गर्दा पुष्पा भुषाल र मिन विश्वकर्माले माइकको लाइन पाएका थिए ।
अब प्रतिपक्षले सदन अवरुद्ध गर्दा प्रतिपक्षी सांसद्ले मात्र बोल्न पाउने, सत्तापक्षले बोल्न नपाउने अवस्था अन्त्य भएको छ । बोल्न पाए भने दुवै पक्षले पाउनेछन्, पाएनन् भने कसैले पाउने छैनन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अपनाएको यो शैली नयाँ हो ।
