काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहँदा आजै राष्ट्रिय सभा बैठक पनि बस्दैछ ।
राष्ट्रिय सभा नियमित कार्यसूची अनुसार बस्दैछ । कांग्रेस बैठक भने उपसभापति विजयकुमार गच्छादारमाथि विशेष अदालतमा मुद्धा दायर भएको विषयमा छलफल गर्न बस्दैछ ।
बालुवाटार जग्गा काण्डमा गच्छादारमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेपछि कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । गच्छादारलाई चोख्याउन माग गर्दै कांग्रेसले प्रतिनिधि सभाका तीनवटा बैठक अवरुद्ध गरिसकेको छ ।
तर, राष्ट्रिय सभा बैठक अवरोध गरेको छैन । राष्ट्रिय सभाको आजको बैठक पनि सुचारु हुने भएको छ, कांग्रेसले अवरोध नगर्ने भएको छ ।
आजको बैठकबाट दुईटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइने कार्यसूची छ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक विधायन व्यवस्थापन समितिमा पठाइन लागिएकाे हाे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निवारण तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक समितिमा पठाइयोस भनेर सभामा प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यस्तै प्रधानमन्त्री ओलीले नै न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदनलाई सभामा पेस गर्ने छन् ।
सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पहिलो संविधान सभाका सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठक दिउँसो दुई बजे बस्दैछ ।
