विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण साेमबार पनि प्रदेश १ काे प्रदेशसभा बैठक अवरुद्ध भएकाे छ ।
निर्धारित समयभन्दा ढिला सुरु बैठकको कारबाही प्रारम्भ हुनासाथ कांग्रेस सांसद्ले उठेर विरोध गरे । उपसभापति विजयकुमार गच्छदारलाई जाेगाउन माग गर्दै कांग्रेस सांसद्ले उठेर विरोध गरेका हुन् ।
त्यसपछि सभाको कारबाही अगाडि बढ्न सकेन । बालुवाटार जग्गा प्रकरणमा उपसभापति गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको विषयमा कांग्रेसले तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले सभाको कारबाही अगाडि बढाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी सांसद्ले उभिएर विरोध गरे । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पारे । उनले सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षीको पुनःध्यानाकर्षण गराए ।
तर, कांग्रेस सांसद्ले विरोध गरिरहेपछि सभामुखले बैठक स्थगित गरिएकाे घाेषाणा गरे । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते बस्ने गरी स्थगित गरिएकाे हाे ।
साेमबारकाे बैठकमा उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ पेस गर्ने कार्यसूची थियाे ।
