काठमाडौ। पाहुनाका अगाडि घर झगडाकाे कुरा गर्न हुँदैन, त्यस्ताे कुरा गर्नु भनेकाे पाहुनाकाे अपमान गर्नु हाे भन्ने नेपाली संस्कार नबुझ्ने सांसद् पनि छन् ।
नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सोमबार राष्ट्रिय सभा बैठक अवलोकनका लागि अायाे । उनीहरु विशिष्ट दर्शक दीर्घामा बसेर बैठक हेर्न थाले । बैठककाे सुरुमै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाहुनाकाे स्वागत गरे । त्यसपछि सदस्हरुले बाेल्ने कार्यक्रम सुरु भयाे ।
पाहुनालाई देखाउने र स्वागत गर्ने बैठक भएकाले सबै दलका तर्फबाट एकएक जनाले बोल्ने कार्यसूची थियो। तर विपक्षी कांग्रेस र राजपाका सांसद्ले भने बाेल्ने क्रममा अघिपछिको विशेष तथा शून्य समयमा झैं सरकार विरुद्ध तितो पोखे। यद्यपी भ्रमण टोलीकाे स्वागतमा भने उनीहरुले पनि शब्द खर्चिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडाकाे संसदीय प्रतिनिधि मण्डलको स्वागत गर्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे । नेपाल र क्यानडाको राजनीतिक प्रणालीमा धेरै समानता रहेको चर्चा गर्दै उनले संघीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानको विशेषताको व्याख्या पनि गरे ।
त्यसपछि उनले सुरु गरे तीतो पोख्न। उनले कैयौं अधिकारलाई संविधानले प्रत्याभुत गरेपनि पछिल्लो समय ती अधिकार विरुद्ध कानुन निर्माण गरेर सरकारले अधिकार खाेस्न प्रयत्न गरेकाे अाराेप लगाए । सूचना प्रविधि विधेयक, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकले जनताको गोपनियताको हनन गर्ने अाराेप उनले लगाए ।
स्वतन्त्र न्यायिक निकायलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । नेपालमा अझै पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको र भ्रष्टाचार छानबिन गर्ने स्वतन्त्र निकायमा सरकारले हस्तक्षेप गरी आफू अनुकूल निर्णय गराउन उद्धत रहेको उनले आराेप लगाए । उनले नाम उल्लेख नगरिकनै ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले सरकारको छायाँ बनेर विभेदपूर्ण रुपमा मुद्दा दर्ता गराएको भन्दै आक्रोश पोखे ।
उनले अहिले कम्युनिष्ट पार्टीको सरकार मात्र भएको सत्ता नभएको भएपनि त्यस्तो महसुस हुन थालेको बताए। उनले एमसीसीमा राजनीति नगर्न आग्रह गर्दै यसै अधिवेशनमा संसद्बाट पारित गर्न माग गरे।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसद् रमेशप्रसाद यादवले जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई स्वागत गर्दे नेपाल बसाई सुखद रहाेस् भन्ने कामना गरे । स्वागत गरिसकेपछि उनले पनि नेपालकाे अान्तरिक घर झगडाकाे कुरा उठाए ।
नेकपाका प्रमुख सचेत दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधि मण्डललाई स्वागत गर्दै नेपाल बसाई सुखमय बितोस् भन्ने कामना गरे । उनले क्यानडाको राजनीतिक र संसदीय प्रणालीको चर्चा गर्दै नेपालको संसदीय र राजनीतिक प्रणालीका धेरै विशेषता र मौलिकता क्यानडासँग मिल्दो रहेको बताए । उनले भने- 'क्यानडामा राजतन्त्र छ नेपालमा गणतन्त्र छ । याे चाहिँ फरक छ ।'
राष्ट्रिय सभाले सबै जातजाति र समुदायको प्रतिनिधित्व गरेकाले राष्ट्रिय सभा सप्तरंगी इन्द्रेणीको रुपमा अवस्थित रहेको उनले बताए । सत्तापक्षका सांसद् भएकाले हाे या उनले बुझेरै हाे, नेपालकाे अान्तरिक विवादकाे विषय पाहुनाका अगाडि उठाएनन् ।
क्यानडेली टाेलीले अाफ्ना अगाडि नेपाली सासद्हरुले घर झगडाकाे कुरा बाेल्दा पक्कै बुझेनन् । किनभने उनीहरुले नेपाली भाषामा बाेलेका थिए । तर, उनीहरुकाे साथमा दाेभाषे पनि थिए । अाफ्ना अगाडि घर झगडाकाे कुरा गरेर अाफूहरुलाई अपमान गरिएकाे पाहुनाले दाेभाषे मार्फत् पक्कै पनि बुझेकाे हुनुपर्छ ।
