काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा चल्न दिने कि नदिने भन्ने विषयमा छलफल गर्दै छ ।
मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमिति बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गरिने कांग्रेस सचेतक पुष्पा भुसालले सनराइज खबरलाई जानकारी दिइन् । उनले भनिन्– ‘सदन खुलाउने कि अवरोधलाई निरन्तर्ता दिने भन्ने निर्णय गर्छाैं ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । गच्छदारलाई चोख्याउन र जोगाउन माग गर्दै कांग्रेसले तीन पटक प्रतिनिधि सभा बैठक अवरुद्ध गरिसकेको छ ।
राष्ट्रिय सभा बैठक भने अवरुद्ध गरेको छैन । तर, प्रदेश सभा बैठक पनि कांग्रेसले अवरुद्ध गरिसकेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारकाे पक्षमा निर्णय गरेको थियो ।
यस्तो छ प्रतिनिधि सभा बैठकको कार्यसूची
–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने ।
–कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गर्ने ।
–कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गर्ने ।
–गृह मन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने । यस्तै गृहमन्त्री थापाले नै ‘कारागार विधेयक, २०७६’ पेस गर्ने ।
–भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्तकुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
– सभामुख अग्निप्रसाद सापकोटाले २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पेस गर्ने । सोमानीको ५२ वर्षको उमेरमा०७६ माघ २५ गते निधन भएको थियो ।
