काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक चल्न दिने भएको छ ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सदन चल्न दिने निर्णय गरेको हो । कांग्रेस सचेतक पुष्पा भुसालले सनराइज खबरसँग भनिन्– ‘सदन चल्न दिने र पार्टी उपसभापति विजयकुमार गच्छारविरुद्धकाे मुद्दालाई राजनीतिक मुद्दाका रुपमा अघि बढाउने निर्णय भयाे ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । गच्छदारलाई चोख्याउन र जोगाउन माग गर्दै कांग्रेसले तीन पटक प्रतिनिधि सभा बैठक अवरुद्ध गरिसकेको छ ।
प्रतिनिधि सभा बैठक अाज दिउँसाे १ बजे बस्दै छ ।
राष्ट्रिय सभा बैठक भने कांग्रेसले अवरुद्ध गरेको छैन ।
तर, गच्छदारलाई जोगाउन माग गर्दै प्रदेश सभा बैठक समेत कांग्रेसले अवरुद्ध गरिसकेको छ । प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेकाे कांग्रेसले अाजबाट चल्न दिने निर्णय गरिसकेकाे छ ।
यसअघि सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारको पक्षमा निर्णय गरेको थियो ।
